काठमाडौं । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतकसहित शतकीय साझेदारी गरेपछि आईसीसी टी–२० विश्वकपअन्तर्गतको पहिलो वार्मअप खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।

मंगलबार चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ४५ रनमा ३ विकेट गुमाएको अवस्थामा आरिफ र दीपेन्द्रले चौथो विकेटका लागि अविजित शतकीय साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए । आरिफले ३७ बलमा ६१ रन बनाए भने दीपेन्द्र ३१ बलमा अविजित ५० रनमा रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रन जोडे ।
नेपालका तर्फबाट करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।
नेपालले अब अर्को वार्मअप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । टी–२० विश्वकपको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डको सामना गर्नेछ ।


