काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईंले बाढी–पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग निरीक्षण गरेका छन् । बिहीबार मन्त्री चौलागाईं, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा.विजय जैसीसहितको उच्च अधिकारीहरूको टोलीले बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसी–नेपालथोक सडक खण्डको स्थलगत निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा मन्त्री चौलागाईंले निर्माण कम्पनीलाई कामको गति बढाउँदै तोकिएको समयमै गुणस्तरीय पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिए । साथै उनले आगामी वर्षायाम सुरु हुनुअगावै यातायात सञ्चालनमा सहजता ल्याउने गरी काम गर्न र आवश्यक समन्वय मिलाउन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् । गत वर्ष २०८१ असोज दोस्रो साता परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले यो राजमार्ग करिब २९ किमी क्षतिग्रस्त बनेको छ ।
साथै गत असोजको तेस्रो साता परेको अविरल वर्षाले पुनः क्षति पुगेको यो राजमार्ग अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । हाल स्थायी पुनर्निमाण पनि सुरु भइसकेको छ । करिब २९ किलोमिटर यो सडक चार प्याकेजमा विभाजन गरिएकोमा तीनवटा प्याकेजको ठेक्का लागेर दुई वर्षभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण सुरु भएको छ । एउटा प्याकेज जाइकाले पुनर्निर्माण गर्ने सहमति भएको छ ।


