माघ २२ गते । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगद सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार अपराह्न ४:३० बजेको समयमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको नियमित गस्ती टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका उदयपुर घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विशेष गस्तीका क्रममा किसनलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको १८ अठार लाख ५० हजार रुपियाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका किसन र बरामद गरिएको रकमबारे थप अनुसन्धान र कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले अवैध आर्थिक कारोबार र हुन्डी नियन्त्रणका लागि उपत्यकाका विभिन्न नाका र क्षेत्रमा निगरानी बढाएको छ ।


