काठमाडौं : ट्राफिक प्रहरीले ठूलो आवाज निकाली ध्वनि प्रदूषण गराउने तथा स्वरुप परिवर्तन गर्ने आठ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार काठमाडौं उपत्यकाको नेपालटार डाँडागाँउस्थित सडकखण्डमा गरिएको विशेष चेकिङको क्रममा ठूलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।
ठूलो आवाज निकाली सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनुका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अनुरोध गरे । नियन्त्रणमा लिइएका सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने जनाइएको छ ।


