काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा शुभकामना सन्देश राख्दै अध्यक्ष ओलीले विश्वकप खेल्न लागेका नेपाली खेलाडीहरूलाई जितको शुभकामना दिएका हुन् ।
‘अहिले मुम्बईमा टी–२० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन् । खेलाडीहरुको मेहनत र पसिनाका लागि हामीले रंगशाला जस्तै पूर्वाधार निर्माण गरेर तिर्नुपर्छ, सहयोग पुर्याउनुपर्छ ।’ अध्यक्ष ओलीले भने ।
नेपाली खेलाडीहरुलाई मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका नेपालीहरूको समेत साथ रहेको अध्यक्ष ओलीले बताए । ‘तपाईंहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ, हामी तपाईंहरूका साथमा छौँ । विपक्षी जतिसुकै बलियो होस्, तपाईंहरूले विपक्षीको हिसाब गर्ने होइन, आफूमा कुनै प्रकारको हिनताबोध ग्रन्थ पलाउन दिने होइन,नेपाली युवाको रगत र आत्मविश्वास तपाईंहरुसँग छ । उचाई चढ्दै गरेको श्रृखला तपाईंहरुको साथमा छ ।’ ओलीले भने ।
अध्यक्ष ओलीले नेपालले यसपटक नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गरे । अध्यक्ष ओलीले भने, ‘प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ र नेपालको शिर ठाडो बनाउनेछ ।’ हार जित खेलको पाटो भए पनि जित्ने उद्देश्यका साथ मैदान उत्रिनुपर्नेमा उनले जोड दिए ।विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आज नेपालले विश्वविजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । विश्वकपमा नेपालका सबै खेल मुम्बईमा हुनेछ ।


