वासिङ्टन डीसी । पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न भएको आशंका गरिएको डुंगामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना जीवितै फेला परेको बताइएको छ । अमेरिकी दक्षिणी कमान्ड (साउथकम)ले सोमबार गरेको उक्त कारबाहीलाई घातक सैन्य प्रहार भनेको छ ।
साउथकमका कमान्डर जनरल फ्रान्सिस एल. डोनोभानको निर्देशनमा फेब्रुअरी ९ सो डुंगामाथि आक्रमण गरिएको बताइएको छ । कमान्डले सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै जीवित व्यक्ति खोजी तथा उद्धारका लागि अमेरिकी कोस्ट गार्डलाई सूचित गरिएको जनाएको छ ।
इक्वेडरको समुद्री उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार अभियानको नेतृत्व गरिरहेको र अमेरिकी पक्षले प्राविधिक सहयोग उपलब्ध गराइरहेको सीएनएनसँग कुरा गर्दै अमेरिकी कोस्ट गार्डका प्रवक्ताले बताए । ट्रम्प प्रशासनले सुरु गरेको ‘अपरेसन सदर्न स्पियर’ अन्तर्गत हालसम्म सन्दिग्ध लागुऔषध तस्करीका डुंगामाथि भएका आक्रमणमा कम्तीमा १२१ जनाको मृत्यु भइसकेको छ ।
प्रशासनले मारिएका व्यक्तिहरूलाई गैरकानुनी लडाकु भनेको छ र अदालतको समीक्षा बिना नै घातक सैन्य कारबाही गर्न पाउने अधिकार आफूहरूसँग रहेको दाबी गरेको छ, जसका आधारमा न्याय विभागको गोप्य प्रतिवेदन रहेको बताइएको छ । यस वर्ष सार्वजनिक रूपमा पुष्टि भएको यो तेस्रो आक्रमण हो। जनवरीमा भएको यस्तै आक्रमणमा दुई जनाको मृत्यु र एक जनाको जीवितै उद्धार भएको थियो ।
यद्यपि, अमेरिकी प्रशासनले अहिलेसम्म मारिएका सबै व्यक्ति लागुऔषध कार्टेलसँग जोडिएका थिए भन्ने स्पष्टप्रमाण सार्वजनिक गरेको छैन । कतिपय डुंगामा लागुऔषध भेटिएको पनि पुष्टि गरिएको छैन । सेप्टेम्बरदेखि सुरु भएको यो अभियानको वैधानिकतामाथि अमेरिकी कांग्रेसमा गम्भीर प्रश्न उठिरहेको छ ।


