४ आश्विन २०८१, शुक्रबार 1726827965
Banner

जनताले एमालेलाई माया गरे, आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरुलाई बिशेष निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकमा बोल्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा भएको गम्भीर गल्ती र त्रुटीलाई अव नदोहोर्याउने गरी हरेक संगठनभित्र अभियान चलाउन निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीको भनाइ उदृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भन्नुभयो- ‘जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

बैठकमा अध्यक्ष ओलीले चुनावी समीक्षाबारे ठोश बुँदा केलाउनु भएको छ । ‘चुनावमा अपेक्षा गरेअनुसारको परिणाम किन आएन ? को कोबाट बदमासी भयो ? के कस्ता अनुशासनहीन काम भए ? यी सवै कुरालाई मसिनो गरी अध्यक्ष कमरेडले बैठकमा केलाउनु भएको छ ।’ बैठकपछि संयन्त्रका संयोजक एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले भन्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले झण्डै दुई घण्टा सम्बोधन गर्नुभएको थियो । निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुमा पार्टीभित्रै घात भएको कुरादेखि सरकारी तवरबाट भएको धाँधली र मतको सुरक्षामा देखिएको कमजोरीलाई अध्यक्ष ओलीले मसिनो गरी केलाउनु भएको बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य तथा अनेरास्वबियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

‘अध्यक्षले बैठकमा सवै पालिका र वडा तहसम्मको बिषयमा भएको अनुशासनहीन कामलाई गम्भीरतापुर्वक लिइएको र उपचार गर्ने अध्यक्षको कुरा थियो,’ बरालले भन्नुभयो । बैठकमा अध्यक्ष ओलीले एमालेप्रति जनताको अपार बिश्वास रहे पनि नेताको तहबाटै घात भएको बताउनु भयो । यस्तै अनुशासनको पाटोमा आएको स्खलनलाई समयमै उपचार जरुरी रहेको पनि अध्यक्ष ओलीले बताउनु भएको छ ।

अध्यक्ष ओलीसहित उपाध्यक्ष बिष्णु पौडेल सहभागी हुनुभएको बैठकले आगामी निर्वाचनलाई केन्द्रित गरेर वडा र टोलसम्म आफ्नो संगठन बिस्तार गर्ने निर्णय गरेको छ । बैठकले देशभर भएको धाँधली र बुथकब्जा तथा एमाले कार्यकर्ताको हत्याप्रति खेद ब्यक्त गर्दै सत्ता गठबन्धनको अपराधलाई जनतामाझ लैजाने निर्णय गरेको सहसंयोजक रचना खडकाले जानकारी दिनुभयो ।