
भक्तपुर । सूर्यविनायक नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६६ दशमलव ५२ अंक प्राप्त गर्न सफल भएको छ। आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा सूर्यविनायकले उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको हो ।
आयोगले स्थानीय सरकारको हकमा १७ वटा सूचकमा मूल्यांकन गरेको थियो, जसमा बजेट समयमै सार्वजनिक/पास गर्नु, आगामी आवको बजेट अर्थ मन्त्रालयमा बुझाउनु, राजस्व परिचालन, बजेट खर्च, बेरुजु व्यवस्थापन, विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, गर्भ परीक्षण गर्ने महिला अनुपात, SEE परीक्षा नतिजा र खोप लगाएका बालबालिकाको अनुपात लगायतका सूचक समावेश थिए।
गत आर्थिक वर्ष २०८१/८२ मा उठेको घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबापत प्रदेश सरकारलाई दिनुपर्ने ४०% रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पनि मूल्यांकनको आधार बन्यो।
सूर्यविनायक नगरपालिकामा ९ वर्षदेखि नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा सबै निर्णयहरु सर्वसम्मतिका साथ भएको र कर्मचारी तथा जनप्रतिनिधिहरु एकजुट भएर समृद्ध नगर निर्माणमा जुटिरहेको छ।
साथै, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको नेतृत्वमा नगरपालिकामा सुशासन कायम राख्ने प्रयासलाई विशेष महत्व दिइएको छ। आचार्यको व्यवस्थापन र निगरानीमा नगरपालिका सेवाहरू छिटो, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् जसले समग्र नगर विकासमा थप गति दिएको छ।
यसअघि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्बजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा सूर्यविनायक नगरपालिकाले ८८ अंक प्राप्त गरेको थियो।
सूर्यविनायक नगरपालिकाले सुसासन र विकासको उत्कृष्ट नमूना पेश गर्दै नागरिकप्रतिको जिम्मेवारी कायम राख्दै आएको छ।
त्यस्तै, कार्यसम्पादन मुल्यांकनमा भक्तपुर जिल्लाका चाँगुनारायण नगरपालिकाले ६२.५९, मध्यपुर थिमी नगरपालिकाले ५०.९२ र भक्तपुर नगरपालिका ६८.३२ अंक प्राप्त गरेको छ।


