रामेछाप । जबरजस्ती करणीको गम्भीर आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी पक्राउ परेपछि लामो समयदेखि अन्यायको बोझ बोकेर बसिरहेकी १७ वर्षीया पीडित बालिकामा न्याय पाउने आशा पलाएको छ ।
सिन्धुलीको दुधौली नगरपालिकाका नगरप्रमुख अधिकारीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गत वैशाख महिनामा ती किशोरीले अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी परेपछि नगरप्रमुख अधिकारी फरार थिए । मंगलबार उनी स्वयं प्रहरी कार्यालयमा हाजिर हुन पुगेका हुन् ।
जाहेरी अनुसार ती बालिका १७ वर्षको उमेरमै जबरजस्ती करणीको सिकार भएकी थिइन् । उनी गर्भवती भई २०८१ फागुनमा शिशु जन्माएकी छिन् । शिशु जन्मिएपछि मात्र घटना सार्वजनिक भएको परिवारजनले बताएका छन् ।
पीडित बालिकाले दुधौली नगरपालिकाकै एक होटलमा काम गर्ने क्रममा नगरप्रमुखबाट आफूमाथि बलात्कार भएको उजुरीमा उल्लेख छ । आर्थिक र सामाजिक दबाबका कारण सुरुमा चुप बस्न बाध्य भएको परिवारको दाबी छ ।
नगरप्रमुख पक्राउ परेपछि पीडित पक्षमा कानुनी प्रक्रियाले गति लिने विश्वास देखिएको छ । बालिकाका अभिभावकले ढिलो भए पनि कानुनले काम थालेको र अब न्याय मिल्छ कि भन्ने आशा जागेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
नाबालिकामाथि जबरजस्ती करणीको आरोप प्रमाणित भएमा कडा सजायको व्यवस्था छ । मुलुकी अपराध संहिता, २०७४ ले १८ वर्षमुनिका बालिकामाथि करणीलाई गम्भीर अपराध मानेको छ ।


