काठमाडौं । राजेश शाक्य, काठमाडौं क्षेत्र नं. ८ का उम्मेदवारको जित सुनिश्चित गर्ने उद्देश्यले चुनावी अभियान तीव्र रूपमा अघि बढाइएको छ। सोही अभियानअन्तर्गत आज कामपा वडा नं. १५ अन्तर्गत अन्नपूर्ण चोकमा विशेष भेला सम्पन्न गरिएको हो।
भेलामा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदाताको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले क्षेत्र नं. ८ को समग्र विकास, पूर्वाधार विस्तार, सम्पदा संरक्षण र जनमुखी योजनालाई निरन्तरता दिन सक्षम नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले राजेश शाक्यको उम्मेदवारीलाई विकास र स्थायित्वको प्रतीकका रूपमा प्रस्तुत गर्दै घरदैलो कार्यक्रमलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाले आफ्ना गुनासा तथा सुझाव राख्दै आगामी दिनमा जनअपेक्षाअनुसार काम हुने विश्वास व्यक्त गरेका थिए। अभियानलाई थप प्रभावकारी बनाउन वडा तहदेखि टोलसम्म समन्वयात्मक रूपमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अन्नपूर्ण चोकमा सम्पन्न उक्त भेलाले चुनावी माहोल थप तातेको र क्षेत्र नं. ८ मा चुनावी गतिविधि दिनप्रतिदिन सक्रिय बन्दै गएको संकेत दिएको छ।


