काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विभिन्न अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आएका चार जना भारतीय नागरिकलाई प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित पक्राउ गरेको छ ।
कार्यालयका अनुसार शुक्रबार बिहान करिब ६ः३० बजे एयर इन्डियाको उडानमार्फत दिल्लीबाट काठमाडौं आएका २४ वर्षीय भारतीय नागरिक मोहम्मद जुनैदलाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको थियो । जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ८७० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, करिब ८ः५८ बजे एयर अरेबियाको उडानबाट सारजहाबाट काठमाडौं आएकी ४४ वर्षीया अफसाना अमिर हुसेन शेखको साथबाट प्लास्टिकसहित करिब ७ केजी ४०० ग्राम र ४३ वर्षीया समीना अख्तर बेग मिर्जाको संलग्नता पुष्टि भएको सुरक्षा कार्यालयले जनाएको छ । दुवैलाई आगमन भन्सार क्षेत्रपछिको टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।
यस्तै, दिउँसो करिब १ः१५ बजे मलेसियन एयरको उडानमार्फत थाइल्याण्ड हुँदै मलेसियाबाट काठमाडौं आएका २९ वर्षीय शाहजेब अहमदलाई पनि शंकास्पद गतिविधिका आधारमा पक्राउ गरिएको छ । उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ३०० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा जस्तो देखिने वस्तुको तौल करिब १४ केजी ५७० ग्राम रहेको छ ।


