काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाइएको घटनाप्रति आक्रोश व्यक्त गर्दै झण्डा जलाउनेलाई निर्वाचन मार्फत जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गरेका छन्।
नेकपा (एमाले) बाट दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिलाई अराजक र आपराधिक प्रवृत्तिको संज्ञा दिए ।
उनले लेखेका छन् – “अराजकता र उदण्डता कुनै नयाँपन होइन, त्यो अपराध हो । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।”
पार्टीको झण्डा तथा चुनाव चिन्ह जलाइएको घटनापछि उम्मेद्वार पोखरेलले यसलाई लोकतान्त्रिक अभ्यासविरुद्धको गतिविधि भएको उल्लेख गरेका छन्। उनले जनतालाई संयमित रहन र लोकतान्त्रिक प्रक्रियामार्फत यस्ता कार्यको जवाफ दिन आग्रह गरेका छन् ।


