४ आश्विन २०८१, शुक्रबार 1726827792
Banner

सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउँछौं, तर विरोध गर्नु भएन : मेयर बालेन्द्र

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल प्रयोग गरेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए ।

यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि मेयर शाहको भनाइ छ । मेयर शाहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि तीन महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ । बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो । सड्ने र नसड्ने फोहोर छुट्टयाउने । त्यसबाट मल र ग्यास निकाल्ने हो । सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ,’ मेयर शाहले भने ।

यस क्रममा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरेका छन् । स्थानीयका सबै समस्या समाधान गरिने तर फोहोर विसर्जन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको शर्त थियो ।मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पटकपटक दोहोर्‍याएका छन् । सिसडोलका स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका थिए ।