काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाताको विवरण झिकाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।
सरकारी खरिद प्रक्रियामा घुस रकम विदेशमा राखिएको आरोपसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइका क्रममा अदालतले आदेश दिएको हो। खाताको विवरण उपलब्ध गराउन समन्वय गर्न नेपाल राष्ट्र बैंकलाई समेत निर्देशन दिइएको छ।
अदालतले आवश्यक परे सिंगापुर पक्षसँग कानुनी सहयोगको सम्भावनाबारे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट पनि जवाफ मागेको जनाएको छ।
पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदका क्रममा सिंगापुरमा घुस लिएको र त्यो रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले वैशाख, २०८१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


