बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रे क्षेत्र नं. १ को कोशीपारी क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले ले घरदैलो अभियानलाई तीव्र बनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा यतिबेला गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहेका छन् ।
अभियानका क्रममा लामा काभ्रेको चौरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुगेका छन् । घरदैलो कार्यक्रममा उनले स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषि आधुनिकीकरणका विषयमा छलफल गरेका छन् ।
लामाले कोशीपारीको समृद्धिका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सुनकोशी तेस्रो जलविद्युत आयोजना सुरु गर्न पहल गर्ने बताएका छन् । उनका अनुसार नेपाल सरकारको बहुप्रतीक्षित उक्त आयोजना यस क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको परियोजना भएकाले शीघ्र कार्यान्वयनमा जोड दिइनेछ ।
यस आयोजनाले स्थानीय युवालाई रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार तथा राजस्व वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । परियोजना सुरु भएसँगै दोलालघाटदेखि दोभानटारसम्म जल–पर्यटन प्रवद्र्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा सिँचाइ व्यवस्थापन सुधार तथा सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिने उम्मेदवार लामाको भनाइ छ ।
धार्मिक पर्यटन विस्तारका लागि पाथीभारा मन्दिर, चौरीदेउराली मन्दिर, खाँदादेवी मन्दिर र नाग्रेगगर्चे लाई विकासको केन्द्रका रूपमा अघि बढाइने मार्गचित्रबारे घरदैलोमार्फत् मतदातालाई जानकारी गराइएको छ ।
घरदैलो अभियानलाई सम्बोधन गर्दै लामाले विगतमा यस क्षेत्रका जनताले पटक–पटक अन्य दललाई विजयी गराए पनि अपेक्षित विकास हुन नसकेको बताएका छन् । “सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन सकेन,” उनले भने, “अब एकपटक एमालेलाई जिताउनुहोस्, म यस भेगमा जनताको आधारभूत विकास निर्माणको बलियो जग बसाल्ने काम गर्छु ।”
उम्मेदवार लामाले कोशीपारीको दीर्घकालीन विकासका लागि स्पष्ट मार्गचित्र आफूसँग रहेको दाबी गर्दै आगामी पाँच वर्षभित्र यस क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । “समृद्ध कोशीपारी” निर्माणका लागि एमालेलाई अवसर दिन उनले मतदातासँग आग्रह गरेका छन् ।


