काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। नेकपा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा सुरक्षा निकाय र निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
उनले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा नगरे मुलुकले फेरि अप्रिय अवस्था भोग्नुपर्ने चेतावनी दिए। प्रचण्डले नेपालका सुरक्षा निकायहरू सेना र प्रहरीमाथि आफ्नो भरोसा रहेको उल्लेख गरे पनि सबै पक्ष उत्तिकै जिम्मेवार नभए विगतका दुखद घटना दोहोरिन सक्ने आशंका व्यक्त गरे। ‘यदि सबैले जिम्मेवारीपूर्वक काम गरेनन् भने भाद्र २४ को जस्तै विध्वंशकारी घटना फेरि दोहोरिन सक्छ,’ उनले सुरक्षा सतर्कता र निष्पक्षताको माग गर्दै भने।
उनले कुनै पनि हालतमा निर्वाचनको वैधतामाथि प्रश्न उठ्ने ठाउँ राख्न नहुने र धाँधलीरहित वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखे। आफ्नो पार्टी अहिले कुनै पनि शक्तिसँग चुनावी तालमेल गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै प्रचण्डले नेकपा एक्लै जनताको अग्नि परीक्षामा होमिन तयार रहेको बताए।
उनले यदि निर्वाचन निष्पक्ष भयो भने नेकपालाई देशको एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरे। भाद्र २३ गते युवाहरूमाथि दमन गर्ने अहंकारी प्रवृत्ति र भाद्र २४ गते विध्वंश मच्चाउने प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध आफ्नो पार्टी बलियो भएर उभिएको उनको जिकिर थियो।
देशैभर नेकपाको पक्षमा जनलहर सिर्जना भएको र पुराना राजनीतिक दलहरू अहिले निकै अप्ठ्यारो स्थितिमा रहेको प्रचण्डको विश्लेषण छ। निर्वाचनका क्रममा हुन सक्ने सम्भावित धाँधलीलाई रोक्न पार्टीले सबै बुथ र वडाहरूमा विशेष तयारी गर्न तल्लो तहसम्म सर्कुलर जारी गरिसकेको जानकारी समेत उनले दिए। कार्यक्रममा उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पुग्न र निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिएका छन्।


