बाजुरा । लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ भोटेले देशको अहिलेको प्रतिकूल अवस्थामा एमालेको जित नै देशको जित हुने बताएका छन् ।
बुढीनन्दा नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको उम्मेदवारको जित पार्टीको मात्र नभई देशकै जित हुने दाबी गरे । उनले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गर्दै अहिले मुलुक आर्थिक समृद्धिको यात्रामा प्रवेश गरेको बताए ।
गुरुङले अब राजनीतिक क्रान्ति सम्पन्न भइसकेको उल्लेख गर्दै आगामी चरण आर्थिक क्रान्तिको भएको बताए । उनले बुढीनन्दा क्षेत्रका नागरिकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य एमालेले लिएको र त्यसका लागि पार्टीको नीति तथा कार्यक्रम स्पष्ट रहेको बताए ।
उनले बाजुरा जिल्लासहित देशभर एमालेले जनजीवनसँग जोडिएका मुद्दालाई प्राथमिकता दिएको दाबी गरे । विभिन्न जातजाति, धर्म, लिङ्ग तथा आर्थिक वर्गबीचको असन्तुलन घटाएर समान अवसर सिर्जना गर्ने क्षमता एमालेसँग मात्रै रहेको उनले बताए ।
भोटेले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितको वर्तमान व्यवस्था स्थापना गर्न एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यो व्यवस्थालाई संस्थागत गर्न पनि एमाले बलियो बन्नुपर्ने बताए । देशमा राजनीतिक वा अन्य संकट आउँदा त्यसलाई जोगाउने शक्ति एमाले नै भएको उनले दाबी गरे ।


