काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको संघारमा झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङ गरिरहेका रातोपाटी अनलाइनका पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति जेनजी मुभमेन्ट अलायन्सले गम्भीर आपत्ति जनाएको छ। गत फागुन १४ गते नेकपा (एमाले) का कार्यकर्ताहरूबाट भएको उक्त हिंसात्मक कार्यको निन्दा गर्दै अलायन्सले यसलाई लोकतन्त्रको आत्मामाथिको प्रहार भनेको छ।
फोटो तथा भिडियो खिचिरहेका सञ्चारकर्मी आचार्यमाथि भएको कुटपिटबाट उनको आँखा, गाला र ढाडमा चोट लागेको छ भने उनको निजी फोन समेत खोसिएको छ । सुशासन र विधिको शासनको दुहाई दिने राजनीतिक दलका कार्यकर्ताबाट प्रेसमाथि भएको यो बल प्रयोगले सम्बन्धित दलको आन्तरिक अनुशासन र राजनीतिक संस्कृतिमाथि नै गम्भीर प्रश्न उठाएको अलायन्सको ठहर छ।
प्रेस स्वतन्त्रता कुनै राजनीतिक दलको अनुग्रह नभई संवैधानिक ग्यारेन्टी भएको उल्लेख गर्दै जेनजी मुभमेन्टले सत्ता र शक्तिको निगरानी गर्ने राज्यको चौथो अंगमाथि हात उठाउनु नागरिकको वाक स्वतन्त्रता र पारदर्शितामाथिको हमला भएको बताएको छ। निर्वाचनका बेला प्रेसलाई त्रसित बनाउनुले लोकतान्त्रिक मूल्यमान्यताको प्रत्यक्ष उल्लंघन हुने विज्ञप्तिमा उल्लेख छ।
अलायन्सले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै, सबै राजनीतिक दलहरूलाई आफ्ना कार्यकर्तालाई लोकतान्त्रिक आचरण र प्रेस स्वतन्त्रताको सम्मान गर्न स्पष्ट निर्देशन दिन आग्रह गरिएको छ।
घाइते पत्रकार आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अलायन्सले यस्ता घटनामा दण्डहीनता कायम रहे भविष्यमा गम्भीर लोकतान्त्रिक संकट निम्तिने चेतावनी समेत दिएको छ।


