रौतहट । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरीया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको उक्त केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबीच सामान्य विषयलाई लिएर भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो । विवाद बढ्दै गएपछि मतदान अधिकृतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही समयका लागि मतदान स्थगित गरेका थिए ।
घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच भएको सहमतिका आधारमा अहिले विवाद साम्य भएको छ । केही समयको अन्योलपछि अहिले उक्त केन्द्रमा पुनः मतदान सुचारु भएको छ र मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन् ।
यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सर्लाही–४ लाई निर्वाचन आयोगले पहिले नै अतिसंवेदनशील सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारेको थियो । यो निर्वाचन क्षेत्र सीमावर्तीमा पर्ने भएकाले सबै मतदान स्थलहरूमा विशेष निगरानी राखिएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका गगन थापा, रास्वपाका अमरेशकुमार सिंह र जनमत पार्टीका राकेश मिश्र लगायतका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रको निर्वाचनलाई देशभर निकै चासोका साथ हेरिएको छ ।


