कन्दमूल, फलफूल, चराचुरुङ्गी र जीवजन्तु काँचै खाने; गुफा, टोड्का र खुला ठाउँमा जिउँने; रुखका बोक्रा–घाँसपात लाउने, ओड्ने र ओछ्याउने आदिम युगमा मानवको गास, बास र कपासको प्रवन्ध यस्तो थियो ! वर्तमान युगमा मानिस विद्युतीय तथा ग्यास चुलोमा पकाएर पीजा, बर्गर र हटडग जस्ता ‘फास्टफुड’ सेवन गर्ने; गगनचुम्बी महल, अन्तरिक्ष र चन्द्रग्रहमा आवास गर्न सक्ने; अत्याधुनिक उपकरणद्वारा उत्पादित मुलायमदार लत्ताकपडा प्रयोगमा ल्याउन सक्ने भएको छ । यसरी संसारले विज्ञान, औद्योगीकरण र आधुनिकतामा फड्को मारेसँगै मानिसको जीवनशैलीमा व्यापक परिवर्तन भएको छ । मानिसले आफ्ना भाबी सन्ततीलाई बचाउने हो भने अब चालु अनियन्त्रित औद्योगीकरण प्रक्रिया, पूर्वाधार विकास पद्धत्ति र कृषि तथा खाद्य प्रणालीमा व्यापक सुधार गर्नै पर्दछ ।
अज्ञानता तथा अविकासले गर्दा अनेकौँ ढङ्गले कष्टकर रहेको हिजोको ज्यान र विज्ञान तथा प्रविधिको विकासबाट प्रवद्र्धित आजको ऐशआराम र विलाशितायुक्त मानिसको दैनिकीका बीचमा आकाश जमिनको भिन्नता छ । फरक त यत्ति हो, मानव जीवनको उषाकालले धर्तीलाई चुनौती दिएको थिएन तर वर्तमान मानव सभ्यता आविष्कृत आधुनिक औद्योगीकरण प्रक्रिया यसरी नै अगाडि बढ्ने हो भने केही सय वर्षभित्रै धर्तीबाट मानव जाति समाप्त हुनेछ । सुन्दर मानव जीवनलाई निरन्तरता दिने हो भने व्यक्तिगत, पारिवारिक र सामाजिक परिवेशलाई प्रकृतिमैत्री बनाउनु पर्दछ । तर यस्तो ज्ञान मानिसलाई हुँदा हुँदै पनि आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन मानिस अझै कटिबद्ध भएको देखिँदैन ।
प्रकृतिको देन मानव जीवनले हरितमैत्री बनेर मात्रै आफूलाई सुरक्षित राखिरहन सक्दछ । तर अहिले उपभोक्तावादी संस्कृतिको बसमा परेको मानिसले आफूलाई प्रकृतिसँगको सान्निध्यताबाट टाढा राख्दै गएको छ । मानिसले क्रमशः प्रकृतिलाई प्रेम गर्न छाडेको छ र आधुनिक औद्योगिक उत्पादन तथा प्रविधिले सिर्जना गरेका नयाँनयाँ किसिमका घरायसी, यान्त्रिक तथा औद्योगिक चिजवस्तु र साधनहरूको उपभोगमा आफूलाई लिप्त तुल्याएको छ । कार्वन उत्सर्जन गरेर निर्मित भएका बजारमा छ्याप्छ्याप्ती विक्रीमा आएका ती वातावरण अमैत्री सवारी साधन र अस्वस्थ्यकर चिजवस्तुहरू नै मानव सभ्यता समाप्त पार्ने कारकतत्व बन्दैछन् ।
आदिम समाजमा बाध्यताले भनौँ वा परिस्थितिले भनौँ खेती नगर्दा पनि मानिसको जीवन जोगिएकै थियो । तर यस धर्तीमा प्राणी र वनस्पतिबाट स्वतः जे फल्छ, फुल्छ, त्यसले मात्र बढ्दै गएको जनसंख्याको चापलाई धान्न नसक्ने भयो । त्यसो त आवश्यकता नै आविश्कारको जननी हो भन्ने उक्ति चरितार्थ भयो र मानिसले कृषि तथा खाद्य प्रणालीको विकास गर्न सफल भयो । अहिले आफूलाई पुग्ने खाद्यान्न उब्जाउन मानिस सक्षम भएको छ तर उत्पादन प्रक्रिया यस्तो घातक भइदियो कि यसले धर्तीको वातावरणलाई प्रदूषित पारिरहेको छ । हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन तीब्र बनिरहेको छ र पृथ्वीको तापक्रम जैविक विविधता प्रतिकूल हुनेगरी उँभो लागिरहेको छ ।
जीवनको सहजता र विलाशिता दुबैका निम्ति हवाई तथा पानीजहाज एवं सडक सवारी साधनको उत्पादन र उपभोग आकाशिँदो छ । भौतिक पूर्वाधारको विकासका लागि सिमेन्ट उद्योग तथा इँटा कारखानाहरू ठूलो मात्रामा खुलिरहेका छन् । आधुनिक खाद्य संस्कृतिलाई चाहिने अध्याधिक प्राणी तथा बनस्पतिजन्य पदार्थहरूको उत्पादनका निम्ति विषादी, रासायनिक मलको प्रयोग चुलिँदो छ । यी सबै किसिमका औद्योगिक तथा व्यावसायिक प्रक्रियामा जैविक ईन्धन तथा कोइलाको ठूलो मात्रामा प्रयोग भइरहेको छ । यसबाट वातावरण प्रदूषण हुने र वरिपरिको परिवेशमा जीवनदायीनी अक्सिजनको मात्रा कम हँुदै जाँदा मानिसको श्वास प्रश्वास प्रक्रियामा नै समस्या पैदा भइरहेको छ ।
प्रकृति प्रदत्त हरीयाली संरक्षण गरे मात्र मानिस सुरक्षित हुन्छ । परम्परागत बनजङ्गल जोगाउने, अति आवश्यक हुँदा रुख काट्नु पर्ने भए जति रुख नासिएको हो त्यति नै विरुवा रोप्ने, पुराना काठहरू सक्दो पुनः प्रयोगमा ल्याउने गर्नुपर्दछ । नवीकरणीय तथा सौर्य ऊर्जाको यथेष्ट विकास गरेर खाना बनाउने गर्नु पर्दछ । अन्य घरायसी प्रयोजनमा दाउरा तथा कोइलाको प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्दछ ।
मानिसले विकास गरेको विज्ञान तथा प्रविधिले आफैलाई समाप्त पार्ने अवस्था उत्पन्न हुँदैछ । आविश्कार भएका साधनको दिगो र किफायती उपभोगका निम्ति मानिसले अझै संकल्प गर्न सकिरहेको छैन । आवत जावत गर्न, सेवा दिन तथा वितरण प्रणालीलाई सहज र सरल बनाउन इन्जिनको आविश्कारले मानिसलाई अभूतपूर्व सुविधा त भएको छ । तर पेट्रोलियम पदार्थको अध्यधिक दोहनले विनाश निम्त्याइरहेको छ ।
अहिले नवप्रवर्तनको चरम दुरूपयोग मानिसले गरिरहेको छ भन्दा अतिशयोक्ति हुँदैन । छोटो दुरीमा पर्ने ठाउँमा पैदल गएरै काम फत्ते हुन्छ भनेपनि मानिस सकेसम्म मोटरगाडि, मोटरसाइकल जस्ता सवारी साधनको प्रयोग गर्न हौसिन्छ, पेट्रोलियम पदार्थ जलाउँछ र वातावरणलाई प्रदूषित पार्दछ । घरमै साइकल हुँदाहुँदै पनि एकछाक साग किन्न जाँदा मानिस सवारी साधनको प्रयोग गर्दछ । सागशब्जीको मूल्य भन्दा इन्धनको मूल्य कति हो कति धेरै हुन्छ तर पनि मानिस किन्न जाँदा कारको प्रयोग गरिरहेको हुन्छ ।
निजी सवारी साधन प्रयोग गर्न पाउनु आफ्नो अधिकार हो भन्ने जिकिर त मानिसले गर्नसक्ला तर जलेको ईन्धनले अरुको मात्र होइन स्वयं आफ्नै पनि जीवन जोखिममा परिरहेको हुन्छ भन्ने कुरा कतिपटक सम्झाउनु !
ऊर्जा र ईन्धनको प्रयोग भई उत्पादन भएको बहुमूल्य खाद्यान्न तथा खाद्य पदार्थ सड्ने, गल्ने, फालिने अवस्था व्यापक बनेको छ । खानाको भरपुर सदुपयोग हुनसक्दा अहिले पनि अनिकाल र भोकमरीमा परेकाको पेट भर्न सकिन्छ । प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गरी विषादी र रसायनरहित खाद्य पदार्थ सेवन गर्ने विषयमा ध्यान पु¥याउनु पर्दछ । होटल, रेष्टुरेन्ट र खाद्यालयका मेनुहरूलाई मौलिक, वातावरणमैत्री र स्वस्थ्यकर बनाउन सुदृढ नियामक निकायको विकास गर्नुपर्दछ । हरित जीवनशैली विकासका निम्ति यस्ता प्रवृत्तिहरूले ठूलो टेवा दिइरहेका हुन्छन् ।
पेट्रोलियम पदार्थलाई नवीकरणीय ऊर्जाले विस्थापित गर्दा हरित जीवनशैलीको विकासमा ठूलो योगदान पुग्दछ । हाम्रो देशमा व्यापक जल सम्पदासहित विद्युत ऊर्जा उत्पादनमा क्षमता भएकोले यसको चाँडो उपभोग गर्न ध्यान पु¥याउनु पर्दछ, अब पानी बगेर खेर गइरहने अवस्थाको अन्त्य गर्नुपर्दछ । विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको व्यापक प्रयोग गर्नसक्दा हरित वातावरणमा मात्र योगदान पुग्दैन बरु विदेशबाट आयात हुने जैविक ऊर्जालाई प्रतिस्थापन गरी देशमा भइरहेको ठूलो परिमाणको व्यापार घाटालाई समेत न्यून गर्न सकिन्छ ।
हरित जीवनशैली अपनाउन आदिम समाजकै जस्तो परिवेशमा बाँच्नु पर्छ भन्ने होइन र त्यो अहिले संभव पनि छैन । बरु मानिसले आफ्नो खाद्य संस्कृति, पहिरन उपयोग गर्ने प्रवृत्ति र परिवहन प्रयोग गर्ने तरिकामा परिमार्जन गर्ने हो भने हरित वातावरण विकासमा फड्को मान सकिन्छ । तारेको, भुटेको र मासुजन्य पदार्थ कम सेवन गर्ने, पानीको अत्याधिक सदुपयोग गर्ने तर खेर नफाल्ने, कागज तथा लत्ताकपडाको पुनः प्रयोग गर्ने प्रविधिको उपयोग गर्ने, सार्वजनिक यातायातलाई सुदृढ तुल्याएर निजी परिवहनलाई निरुत्साहित बनाउने जस्ता कार्यले वातावरण संरक्षणमा योगदान पुग्दछ ।
जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका निम्ति ढिलै भएपनि प्रयासहरू हुन थालेका छन् । विश्वव्यापी रूपमा जलवायु संकट गहिरिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायको ध्यान सघन रूपमा वातावरण जोगाउने विषयमा केन्द्रित भइरहेको छ । अबको ठिक एक महिनामा संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–२६) बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ । त्यहाँ हरित विकासको विषयमा समेत छलफल हुने भएकाले त्यसलाई उपलब्धिमूलक बनाउन जलवायु परिवर्तनले गम्भीर असर परिरहेका हिमाली तथा टापु देशहरूले विशेष ध्यान दिनु पर्दछ । नेपाल समेत उक्त सम्मेलनमा सहभागी बन्ने भएकाले सम्बन्धित सबै सरोकारवालाहरूसँग अन्तरक्रिया गर्नु पर्दछ । उक्त जमघटबाट प्राप्त उपलब्धिलाई स्वदेशमा पूँजीकृत गर्दै विद्यालय तहदेखि नै हरित जीवनशैलीका बारेमा जागरुक बनाउन यस विषयलाई पाठ्यक्रममा समावेश गर्न ध्यान पु¥याउनु पर्दछ ।