काठमाडौं । बुद्ध एयरका मालिक समेत रहेका गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्रबहादुर बस्नेतले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बस्नेतले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन । मैले बुझेँ– पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन । अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ ।’ बस्नेतले लेखेका छन् ।
गत भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोहबाट प्रभावित भई राजनीतिमा होमिएको भन्दै बस्नेतले अबका दिनमा स्वतन्त्र नागरिकका रुपमा समाजसेवामा समर्पित हुने बताएका छन् ।
‘आगामी दिनमा म मेरो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्नेछु । स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि, र गुणस्तरीय माध्यमिक शिक्षा( यिनै क्षेत्रहरुबाट दिगो रोजगारी र समतामूलक समृद्धिको बीउ रोप्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिवद्ध रहन म शुभकामना व्यक्त गर्दछु । साथसाथै अन्य सबै लोकतान्त्रिक राजनीतिक दलहरुलाई पनि मेरो हार्दिक शुभकामना ।’


