सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पामा ‘फर्जी मत’ खसेको भन्दै विवाद उत्पन्न भएपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । काईके गाउँपालिका–४ र ५ को मतगणनाका क्रममा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएका पाँच मतपत्र र सातवटा मतपत्रका अर्धकट्टी मात्र भेटिएपछि विवाद सुरु भएको हो ।
उक्त मतपत्रमा अनधिकृत व्यक्तिले मतदान गरेको भन्दै नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र एक स्वतन्त्र उमेदवारले मुख्य निर्वाचन अधिकृत र जिल्ला प्रशासन कार्यालयमा पुनः मतदानको माग गर्दै उजुरी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मागबमोजिम निर्णय नगरे सर्वोच्च अदालत जाने चेतावनी समेत उनीहरूले दिएका छन् ।
विवादका कारण मतगणना रोकिनुअघि सार्वजनिक गरिएको पछिल्लो परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार धनबहादुर बुढा दुई हजार १४ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका उमेदवार कर्णबहादुर बुढाले ४२७ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै, एमालेका उमेदवार लंकबहादुर रोकायाले ३४१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार देवसिंह ऐडीको ८४ मत ल्याएका छन् ।
उज्यालो नेपाल पार्टीका दिलबहादुर बिष्टले नौ, राप्रपाका हरिप्रसाद डाँगीले पाँच, प्रलोपाका विकास बुढाले तीन र स्वतन्त्र उमेदवार ओमेन्द्रबहादुर केसीले एक मत पाएका छन् ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार, मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगबाट राय मागिरहेकाले सर्वदलीय बैठक र मतगणना कार्यमा ढिलाइ भएको छ ।


