दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । फराकिलो मतान्तरसहित उनी सांसद निर्वाचित भएका हुन् ।
शनिबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामानुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले १५ हजार २८२ मत ल्याए । उनीहरूबीचको मतान्तर २८ हजार २७५ रह्यो ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत पाए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दाङ–२ मा कुल ८० हजार ९२० मत खसेको थियो ।


