उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।
केन्द्रको अभिलेखअनुसार तामाङ संलग्न ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक बाउन्स प्रकरणमा कालोसूचीमा परेको देखिएको हो। उक्त कम्पनीका सञ्चालक तामाङ र लीला राई रहेको उल्लेख छ।
हालै सम्पन्न निर्वाचनमा तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याएका थिए।
निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि मात्रै तामाङको नाम कालोसूचीमा रहेको विवरण बाहिर आएको हो। यस विषयमा सम्बन्धित निकायले आवश्यक प्रक्रिया र अध्ययन अघि बढाउने जनाइएको छ।


