काठमाडौं । खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए ।
उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो ।
पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ । निगमले इन्डियन आयल निगम (आईओसी)सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ ।
तर भारतबाट मागअनुसारको ग्यास आउन छाडेको छ । नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ । करिब दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ ।
सरकारले यसअघि २०७२ मा भारतले लगाएको नाकाबन्दीका बेला पनि आधा सिलिन्डर ग्यास वितरण गरेको थियो ।


