काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको मिति निश्चित भएको छ । ट्रम्पले आगामी मे १४ र १५ तारिख अर्थात २०८३ साल वैशाख ३१ र जेठ १ गते चीन भ्रमण गर्ने निश्चित भएको हो ।
भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सि जिनपिङबीच भेटवार्ता हुनेछ । लामो समयदेखि बहुप्रतीक्षित यो भेटवार्ता आगामी मे १४ र १५ तारिखमा बेइजिङमा हुने तय भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको रोयटर्सले जनाएको छ ।
यसअघि मार्च अन्त्य वा अप्रिलको सुरुतिर हुने अपेक्षा गरिएको चीन भ्रमण करिब ६ हप्ता पछि सारिएको हो। ट्रम्पले मार्चको मध्यतिर इरानसँगको युद्धका कारण उक्त भेटवार्ता एक महिनाजति पछि सार्न आग्रह गरेको बताएका थिए ।
ट्रम्पले भने– सीसँगको भेट ‘महत्वपूर्ण र ऐतिहासिक’ बुधबारको पत्रकार सम्मेलनपछि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डलले ‘ऐतिहासिक’ भ्रमणका लागि अन्तिम तयारी गरिरहेको जानकारी दिएका थिए ।
उनले राष्ट्रपति सीसँगको भेट ‘महत्वपूर्ण र ऐतिहासिक’ हुने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीलाई अमेरिका भ्रमणको निम्तो समेत दिनेछन् ।


