काठमाडौं । भारतीय क्रिकेटका आइकन तथा चेन्नई सुपर किंग्सका पूर्वकप्तान एमएस धोनीले पिँडुलाको मांसपेशीमा लागेको चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने भएका छन् । फ्रेन्चाइज टोली चेन्नईले शनिबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ ।
चेन्नई सुपर किंग्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनी हाल पिँडुलाको चोटका कारण पुनस्र्थापना प्रक्रियामा छन् । फलस्वरूप, उनले टाटा आईपीएल २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने सम्भावना छ ।’
चेन्नईले यस सिजनको आफ्नो पहिलो खेल मार्च ३० मा गुवाहाटीमा सन् २००८ को च्याम्पियन राजस्थान रायल्स विरुद्ध खेल्दै सुरुवात गर्नेछ । यसपटकको आईपीएलमा केही रोचक ‘ट्रेड’ (खेलाडी साटासाट) देखिएका छन् ।
राजस्थानका पूर्वकप्तान सन्जु सामसन अब चेन्नई सुपर किंग्समा आबद्ध भएका छन् भने चेन्नईका दिग्गज खेलाडी रवीन्द्र जडेजा ट्रेडमार्फत आफ्नो पुरानो टोली राजस्थान रोयल्स फर्किएका छन् ।
यस्तै, इंग्लिस अलराउन्डर साम करन पनि चेन्नईबाट राजस्थान पुगेका छन्, तर उनी चोटका कारण यो सिजन उपलब्ध हुने छैनन् ।
धोनीको अन्तिम सिजन हुनसक्ने अनुमान
धोनीको घुँडाको समस्या र बढ्दो उमेरका कारण यो सिजन उनको खेल जीवनकै अन्तिम आईपीएल हुन सक्ने चर्चा सुरु भएको छ । हालै चेपौक स्टेडियममा आयोजित फ्यान इभेन्टमा धोनी आफैंले आफ्नो फिटनेसको स्तर खस्कँदै गएको स्वीकार गरेका थिए । फिटनेस र स्वास्थ्यलाई मध्यनजर गर्दै पछिल्लो समय उनले ब्याटिङ अर्डरमा तल झरेर अन्तिम ओभरहरूमा मात्र ठूला सटहरू प्रहार गर्ने रणनीति अपनाउँदै आएका छन् ।
चेन्नईले विकेटकिपर ब्याटरको रूपमा सन्जु सामसनलाई टोलीमा भित्र्याउनु र अनक्याप्ड खेलाडी कार्तिक शर्मालाई १४.२० करोड रुपैयाँमा खरिद गर्नुले पनि टोली धोनीपछिको भविष्यको तयारीमा लागेको प्रस्ट हुन्छ ।
धोनीको आईपीएल करियर
धोनीले अहिलेसम्म २७८ आईपीएल खेलका २४२ इनिङ्समा ३८.३० को औसत र १३७.४५ को स्ट्राइक रेटले कूल ५,४३९ रन बनाएका छन् । जसमा २४ वटा अर्धशतक समावेश छन् भने उनको उच्च स्कोर ८४८ रहेको छ । उनी आईपीएल इतिहासकै छैटौं धेरै रन बनाउने खेलाडी हुन् । अघिल्लो सिजनमा उनले १३ इनिङ्समा १९६ रन बनाएका थिए ।


