मस्को । रुसी विदेशमन्त्री सर्गेई लावरोभ र इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीबिच टेलिफोन वार्ता भएको छ । रुसी विदेश मन्त्रालयका अनुसार दुई मन्त्रीबिच इरानमा जारी सैन्य र राजनीतिक संकटको कूटनीतिक समाधान खोज्ने सम्भावनाबारे विस्तृत छलफल भएको हो।
रुसले अमेरिका र इजरायलले इरानमाथि गरेको कारबाहीलाई विनाकारण गरिएको कदम भन्दै यसले क्षेत्रमा जटिलता थपेको टिप्पणी गरेको छ। वार्ताका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय कानुन र छिमेकी देशहरूको हितलाई ध्यानमा राख्दै द्वन्द्वलाई राजनीतिक मार्गमा ल्याउने विषयमा विचार आदानप्रदान गरेका छन्।
लावरोभले इरानलाई रुसको तर्फबाट पठाइएको पछिल्लो मानवीय सहायताका बारेमा पनि जानकारी दिएका थिए। रुस र इरानबिच राजनीतिक, आर्थिक, सैन्य र ऊर्जा क्षेत्रमा रणनीतिक साझेदारी सम्झौता भए पनि यसमा प्रत्यक्ष आपसी रक्षा सम्झौता भने सामेल छैन।
यसैबिच, फ्रान्समा जारी जी-सेभेन बैठकमा युरोपेली विदेशमन्त्रीहरूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग रुसले इरानलाई सहयोग गरिरहेको प्रमाण मागेका छन्। सुरक्षा स्रोतहरूका अनुसार रुसले इरानलाई अमेरिकी सेनालाई निशाना बनाउनका लागि गोप्य भूउपग्रह तस्बिरहरू उपलब्ध गराइरहेको र इरानी ड्रोनहरूलाई थप शक्तिशाली बनाउन प्राविधिक मद्दत गरिरहेको दाबी गरिएको छ।
यसअघि अमेरिकी प्रशासनले रुसले इरानलाई युद्धमा प्रत्यक्ष सहयोग पुर्याइरहेको आशंका व्यक्त गरेको थियो । तर, रुसले भने आफ्नो सहयोग मानवीय र रणनीतिक साझेदारीमा मात्र सीमित रहेको बताउँदै आएको छ।


