काठमाडौँ : शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सारेका छन्।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका लागि पुगेका मन्त्री पोखरेलले सो घोषणा गरेका हुन्। मन्त्री पोखरेलले अबको ५ वर्षमा ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए। मन्त्री पोखरेलले नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु रहेको औँल्याए।
काठमाडौँ महानगरपालिकामा रहँदा शुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै मन्त्री पोखरेलले अब नीतिगत र कानूनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, ‘अहिले नेपालको खेलकुद इन्डस्ट्री हेर्ने हो भने धेरैजसो खेलाडीहरू नेपाल प्रहरी, सेना र एपीएफबाट आएका छन् किनभने त्यहाँ डाइट, ट्रेनिङ र नियमित आम्दानीको सुनिश्चितता छ। तर १८ वर्ष पुगेपछि मात्र ती निकायमा जान पाइन्छ। हामीले त्यही स्तरको डाइट र ट्रेनिङ सानो उमेरदेखि नै दिन सक्यौँ भने खेलकुदको विकास अझै तिब्र गतिमा हुन्छ।
महानगरमा हुँदा कतिपय कानुनी अड्चनले गर्दा पाठ्यक्रममा जोड्न सकिएन तर अब हामी नीति निर्माणकै तहमा छौँ। पाठ्यक्रम विकास केन्द्रसँग मिलेर विद्यालयको पाठ्यक्रममै खेलकुदलाई जोड्न हामीलाई कसैले रोक्दैन।’
मन्त्री पोखरेलले खेलले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि ठूलो भूमिका खेल्ने बताए। आफूलाई मन्त्री वा अध्यक्ष भन्दा पनि एक ‘टिम मेम्बर’ को रूपमा मात्र हेर्न आग्रह गर्दै पोखरेलले सबै विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट हुन आह्वान गरे। मन्त्री पोखरेलले आगामी ५ वर्ष खेल क्षेत्रलाई ग्रासरुटसँग जोडेर दीर्घकालीन विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे।


