काठमाडौं । मध्यपूर्वमा एक महिनादेखि जारी युद्धकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक बिहीबार ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
ट्रम्पले १९ मिनेट भाषण गरे । तर उनले भाषणमा इरान युद्धको लक्ष्य के हो ? भन्ने कुरा स्पष्ट पारेनन् । र युद्ध किन अझै जारी छ भन्नेबारे पनि खुलाएनन् । उनले संसद्को स्वीकृतिबिना नै इरानसँग युद्ध गरेका थिए ।
ट्रम्पको सम्बोधनले इरान युद्धबारे भ्रम हटाउने र नयाँ केही घोषणा हुने अपेक्षा गरिएको थियो । तर उनले कुनै नयाँ घोषणा गरेनन्, केही समयदेखि आफ्नो सामाजिक सञ्जालमा राख्दै आएका कुराहरू नै दोहोर्याएका थिए ।
ट्रम्पले युद्ध लम्बिने बारेमा चिन्तित अमेरिकीहरूलाई द्वन्द्वलाई परिप्रेक्ष्यमा हेर्न आग्रह गरे । उनले इराक (८ वर्ष) र भियतनाम (१९ वर्ष) जस्ता अघिल्ला अमेरिकी युद्धहरूलाई उद्धृत गर्दै इरान युद्ध दोस्रो महिनामा मात्र रहेको उल्लेख गरे ।
एक दिन अघि इरान युद्धमा सम्झौताको आवश्यकता नभएको बताएका ट्रम्पले युद्ध अन्त्य गर्न इरानसँग वार्ता आवश्यक रहेको बताए । साथै, होर्मुज जलडमरूम संकटको बारेमा उनले अन्य देशहरूले यसको सुरक्षाको जिम्मेवारी लिनुपर्ने बताए । हालै उनले होर्मुज नखोलिकन कुनै सम्झौता नहुने बताएका थिए ।


