बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई अझ भरोसायोग्य र पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले केही व्यक्तिको गलत नियतका कारण समग्र सहकारी क्षेत्रमाथि प्रश्न उठ्न थालेको प्रस्ट पारे । उनले नियत खराब राखेर सञ्चालन गरिएका सहकारी संस्थाले गर्दा सहकारी क्षेत्र बदनाम भइरहेको जिकिर गर्दै यस्ता संस्थामाथि कडाइका साथ नियमन भइरहेको जनाए ।
‘गलत उद्देश्य बोकेर आएका सहकारीहरूले गर्दा सहकारी क्षेत्र शङ्काको घेरामा परेको छ,’ उनले भने, ‘बाहिरबाट आएर पैसा कुम्ल्याएर गएका उदाहरण पनि छन् । बुटवलस्थित सुप्रिम सहकारीमा आवद्ध सर्वसाधारण अहिले अलपत्र परेका छन्, त्यहाँको पैसा कहाँ गयो, कसले लग्यो भन्ने गम्भीर प्रश्न उठेको छ ।’ मुख्यमन्त्री आचार्यले सहकारी संस्थाले सर्वसाधारणको जीवन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरे । ‘साहु–महाजनकोमा धाउनु पर्ने अवस्था हटाउँदै साना–तिना आर्थिक आवश्यकताहरू सहकारीमार्फत पूरा भइरहेका छन्,’ उनले भने ।
प्रदेश सरकारले ल्याउने बजेट बराबरकै पुँजी सहकारीमार्फत परिचालन भइरहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले सहकारीबाट प्रदेशको आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुगेको बताए । यस वर्ष ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ सहकारी दिवस मनाइएको हो । कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले सहकारी क्षेत्रको प्रोत्साहन र नियमन दुवै पक्षलाई सन्तुलनमा राखेर काम भइरहेको जानकारी दिए ।
प्रमुख सचिव कृष्णप्रसाद काप्रीले सहकारीका राम्रा अभ्यासलाई आत्मसात् गर्दै समस्या नआउने वातावरण बनाउनुपर्नेमा जोड दिए । तीन तहका सरकारबिच समन्वय र एकीकृत कार्यशैली आवश्यक रहेको उनको भनाइ थियो । मन्त्रालयका प्रशासन तथा सहकारी विकास महाशाखाका उपसचिव मञ्जु पाण्डेले सहकारी क्षेत्रमा देखिएका समस्याहरू क्रमशः समाधान हुँदै गएको जानकारी दिइन् ।
चार विधामा पाँच सहकारी पुरस्कृत
लुम्बिनी प्रदेश सरकारले विभिन्न चार विधामा पाँच सहकारी संस्थालाई पुरस्कृत गरेको छ । पल्स, एमसीआई र सुशासनका सूचकका आधारमा ती सहकारी संस्थालाई २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
बचत तथा ऋण सहकारी संस्थातर्फ किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था लि., ठाकुरबाबा–५, बर्दिया र राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि., तुलसीपुर–६, दाङलाई पुरस्कृत गरिएको छ ।
बहुउद्देश्यीय सहकारी संस्थातर्फ पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लि., बुटवल–४, रुपन्देही, उत्पादक सहकारी संस्थातर्फ उत्कृष्ट साना किसान कृषि सहकारी संस्था लि., राप्ती सोनारी–८, बाँके र उपभोक्ता सहकारी संस्थातर्फ तुलसी उपभोक्ता सहकारी संस्था लि., तुलसीपुर–६, दाङलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै लगिएको र ऐन–कानुनलाई समयानुकूल संशोधन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश सहकारी संघका सचिव रुपबहादुर खत्री, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


