काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक वैदेशिक भ्रमणका रूपमा हुने भारत भ्रमणको तयारीलाई सरकारले तीव्रता दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमा भारत भ्रमणको निम्तो पनि गरेका थिए।
मोदीले दिएको निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री शाहले आफू उचित समयमा भारतको भ्रमण गर्ने उल्लेख गरेका थिए। साेही अनुसार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहकाे भारत भ्रमणलाई तीव्रता दिएकाे हाे।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार, यो भ्रमणलाई केवल शिष्टाचारमा मात्र सीमित नराखी ‘नतिजामुखी’ बनाउने सरकारको योजना छ। याे भ्रमणमा नेपालको जलविद्युतलाई भारतीय बजारमा सहज पहुँच दिलाउने र बंगलादेशसँगको त्रिदेशीय विद्युत व्यापारको ठोस खाका तयार पार्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ।
यसैगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतसँग निर्णायक वार्ता गर्ने तयारी छ।
सन् १९५० को सन्धि र ईपीजी प्रतिवेदनका सम्बन्धमा नेपालको स्पष्ट अडान राख्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई ‘रिसेट’ गर्ने प्रधानमन्त्रीको मुख्य एजेन्डा रहेको बताइएकाे छ। भ्रमणको मिति तय गर्नुअघि दुवै देशका सचिवस्तरीय संयन्त्रहरूले एजेन्डामा सहमति जुटाउनेछन्। आगामी महिनाभित्रै भ्रमण सम्पन्न गर्ने गरी छलफल भइरहेको छ।


