काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयको कडा विरोध गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने कदमलाई चरम अलोकतान्त्रिकको संज्ञा दिएका हुन्।
विश्वविद्यालयभित्र सुरक्षा युनिट स्थापना गर्ने तयारीप्रति कडा आपत्ति जनाउँदै नेता ज्ञवालीले यसलाई प्राज्ञिक स्वायत्ततामाथिको ठाडो हस्तक्षेप भनेका छन्। उनले पञ्चायती निरंकुशतामा समेत सरकारले गर्न नसकेको यस्तो धृष्टतापूर्ण निर्णयमा विश्वविद्यालयका उपकुलपतिहरूले कसरी हस्ताक्षर गर्न सके भनेर प्रश्नसमेत उठाएका छन्।


