गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सप्ताहन्तमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक आउने गरेका जानकारी दिनुभयो । “अन्य दिनमा पनि छ–सात सय पर्यटक भित्रिरहेका छन्”, उहाँले भन्नुभयो, “सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि पर्यटकीय गतिविधि थप बढ्ने अपेक्षा लिइएको छ ।”
‘सबै मौसममा पर्यटन’को मूलमन्त्रसहित स्थानीय पर्यटन व्यवसायीले घान्द्रुकको प्रवर्द्धन गर्दै आएका छन् । संस्कृति र प्रकृतिको सङ्गमस्थल मानिने घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलमा पर्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेमध्ये बढी भारतीय पर्यटक रहेको बताउनुभयो । यो याममा एकैदिनमा ८५६ जनासम्म विदेशी पर्यटक यस क्षेत्रमा आएको उहाँको भनाइ छ ।
पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको छ । चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । सडकको पहँच विस्तारले घान्द्रुकमा आन्तरिक पर्यटकको आवतजावत पछिल्लो समय बढेको हो ।
अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकलाई पर्यटन बजारमा बिकाइराख्न यहाँको मौलिकता र पहिचान जोगाउनुपर्ने बताउनुभयो । पछिल्लो समय तीव्र रूपमा निर्माण भइरहेका कङ्क्रिटका संरचनाले गाउँको मौलिक स्वरूप बिगारेको उहाँको भनाइ छ । परम्परागत सामग्री र शिल्प प्रयोग गरेर घर निर्माण गर्नेलाई गाउँपालिकाले अनुदानको नीति ल्याउन लागेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।


