काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले साढे ३ करोड रुपैयाँ बराबरको जग्गा खरिद गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यो जग्गामा किरण आफैं र श्रीमतीको आम्दानी तथा ऋणमार्फत लगानी गरिएको हो ।
श्रीमतीको नाममा रहेको काठमाडौं टोखा नगरपालिकाको प्लट २ करोड २० लाख रुपैयाँमा खरिद गरेको पण्डितले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उक्त लगानीको स्रोत आफ्नो र श्रीमतीले आम्दानी गरेको तथा केही बैंक ऋण लिएको उल्लेख गरेका छन् । काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबर तथा कैलालीको धनगढीमा पण्डितको नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।
त्यसैगरी भाइसँग संयुक्त लगानीमा रुपन्देहीमा ४० लाखको जग्गा पनि रहेको पण्डितको सम्पत्ति विवरण देखिन्छ ।पारिवारिक सम्पत्तितर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँ दमौलीमा ११ रोपनी जग्गा तथा आमाको नाममा काठमाडौंमा ६ आना जग्गा छ । आमाकै नाममा सामाखुसीमा साढे दुई तले घर रहेको जनाइएको छ । उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाइएको विवरणमा उल्लेख छ ।
डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, २ सय ५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा छ । विवाह, पास्नी तथा निजी आर्जनबाट उक्त सम्पत्ति प्राप्त भएको विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकमा गरी उनको २ करोड २० लाख रुपैयाँभन्दा बढी बचत छ । साथै, विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको पनि सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।
त्यसैगरी विभिन्न बैंकमा करिब ४० हजार अमेरिकी डलर बचत रहेको विवरणमा उल्लेख छ । त्यस्तै पण्डितसँग बैंक, बीमा तथा जलविद्युत् कम्पनीको करिब ८ हजार कित्ता सेयर रहेको विवरणमा देखिन्छ । डेपुटी गभर्नरमा नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान अनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको हो ।


