काठमाडौं । ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको आयोजनामा भृकुटीमण्डप प्रदर्शनी स्थलमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो सुरु भएको हो ।

तीन दिनसम्म चल्ने एक्स्पोमा नेपाल, भारतसहित विभिन्न देशका ४ सय ७५ भन्दा बढी प्रदर्शक सहभागी छन् भने स्वास्थ्य सेवा र प्रयोगशाला विज्ञानका नवीनतम प्रविधि, उपकरण तथा समाधानहरुलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
एक्स्पोको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्वास्थ्यसम्बन्धी नयाँ प्रविधिका बारेमा जानकारी गराउन आयोजना गरिएको प्रदर्शनी निकै महत्वपूर्ण रहेको धारणा राखे ।
उक्त एक्स्पोमा अस्पताल, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज, ब्लड बैंक तथा खाद्य तथा सामग्री परीक्षण प्रयोगशालासँग सम्बन्धित स्टल राखिएको समेत आयोजकले जानकारी दिएको छ ।


