२१ बैशाख २०८३, सोमबार 1777900233
विश्व

होर्मुजमा अड्किएका जहाजलाई सुरक्षित बाहिर निकाल्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अड्किएका जहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका अघि बढ्ने घोषणा गरेका छन् । उनले सोमबारदेखि सुरु हुने ‘प्रोजेक्ट फ्रिडम’ अन्तर्गत अमेरिका जहाजहरूलाई मार्गदर्शन गर्ने बताएका हुन् । यो कदम अमेरिका, इरान र मध्यपूर्वका देशहरूको हितका लागि मानवीय पहलका लागि हुने उनको भनाइ छ । उनले उक्त प्रक्रियामा अवरोध भए कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

२८ फेब्रुअरीदेखि सुरु भएको युद्धपछि होर्मुजहुँदै हुने जहाज आवागमनमा इरानले प्रतिबन्ध लगाएको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी गरेको छ । यसका कारण करिब २० हजार जहाज खाडी क्षेत्रमा फसेका छन् ।

अमेरिकी सेनाले १५ हजार सैनिक, मिसाइल सुसज्जित युद्धपोत र १०० भन्दा बढी विमान परिचालन गरिने जनाएको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले द्वन्द्वले ऊर्जा मूल्यमा ठूलो प्रभाव पारेको छ ।

यसैबीच, अमेरिका र इरानबीच सकारात्मक वार्ता भइरहेको ट्रम्पले बताएका छन् । इरानले पठाएको नयाँ शान्ति प्रस्तावको समीक्षा भइरहेको बताइएको छ, तर अमेरिकाले औपचारिक प्रतिक्रिया भने पुष्टि गरेको छैन ।