२१ बैशाख २०८३, सोमबार 1777919148
Banner

ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

कञ्चनपुर, २१ वैशाख : यहाँको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गएराती न्यु जनता इँटा उद्योगमा काम गर्ने मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको से १ त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोक्किएको थियो । सो क्रममा भारत उत्तर प्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् । त्यसैगरी ९ वर्षीय पवन कुमारको पनि उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । दुर्घटनामा गम्भीर घाइते ११ वर्षीय बालक घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनापछि ट्याक्टर र पानी छर्किने ट्याङ्कर इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।