२२ बैशाख २०८३, मंगलबार 1778003562
Banner

सूचना दिने व्यवसायीलाई नै पक्राउ गर्नु अन्यायपूर्ण : अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले ईजीपी प्रणालीको कमजोरीका बारेमा सूचना दिँदा उल्टै व्यवसायीमाथि धरपकड गरिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष पाण्डेले सरकारले व्यवसायीलाई अपराधीको जस्तो व्यवहार गरेको बताएका हुन्।

अध्यक्ष पाण्डेका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ईजीपी) असुरक्षित रहेको र ह्याक भइरहेको जानकारी महासङ्घले नै डेढ–दुई वर्ष अघिदेखि सरकारलाई दिँदै आएको थियो ।

‘हामीले नै महासङ्घको लेटरहेडमा सीआईबीलाई पत्राचार गरेर प्रणाली ह्याक भइरहेको छ, यसलाई पत्ता लगाएर दोषीलाई कारबाही गरौँ भनेका हौँ,’ उनले भने । तर अहिले अनुसन्धानका नाममा उल्टै सूचना दिने र पीडित व्यवसायीलाई मात्र पक्राउ गरी आतङ्कित बनाइएको पाण्डेले बताएका छन् ।

अनुसन्धानको प्रक्रिया एकतर्फी भएको भन्दै पाण्डेले आलोचना गरे । उनले भने, ‘ताली बजाउन दुई हात चाहिन्छ । प्रणालीका कमजोरी, त्यसलाई चलाउने कर्मचारी र अन्य सरोकारवालालाई अनुसन्धानको दायरामा नल्याई व्यवसायीलाई मात्र धरपकड गर्नु अन्यायपूर्ण छ ।’ प्रणालीको प्राविधिक त्रुटिलाई लिएर व्यवसायीलाई मात्र बलि चढाउन खोजिएको उनको आरोप छ।

पछिल्लो समय भइरहेको धरपकडले निर्माण व्यवसायीहरू ठेक्का हाल्न समेत डराउनुपर्ने अवस्था आएको पाण्डेले उल्लेख गरेका छन् । कसैले प्रणाली ह्याक गरेर ठेक्का पारिदिएकै भरमा व्यवसायी जेल जानुपर्ने स्थिति आएको भन्दै उनले यसले निर्माण क्षेत्रमा त्रास फैलाएको बताएका छन्।

अध्यक्ष पाण्डेले यस्तो धरपकड र थुनछेक तत्काल नरोकिए देशभरका सम्पूर्ण निर्माण कार्यहरू बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनले व्यवसायीको मानमर्दन गर्ने कार्य बन्द गरी निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।