वैशाख २३ गते । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा बुधबारदेखि प्रसिद्ध ‘त्रिसाली मेला’ सुरु भएको छ। प्रत्येक तीन–तीन वर्षमा लाग्ने यो मेला कोशी प्रदेशकै ठुला मेलामध्ये एक मानिन्छ।

परापूर्व कालदेखि लाग्दै आएको यो मेला पाँच दिनसम्म चल्नेछ। मेलामा विभिन्न सांस्कृतिक झाँकीहरूका साथै खेलकुद र गायन प्रतियोगिता समेत सञ्चालन गरिने आयोजकले जनाएका छन्।
ऐतिहासिक तथ्य अनुसार, ईसा पूर्व छैटौँ र नवौँ शताब्दीका राजा उवाहाङका पालादेखि यहाँ मेला लाग्न थालेको हो। इतिहास अनुसार राजा उवाहाङ युःमामाङ (बुढीबोजु) का परम भक्त हुनुहुन्थ्यो। उहाँले युःमामाङको आराधना र उपासना गर्दै उत्तरी तिब्बतको मिथिलादेखि दक्षिणी भारतको सिमानासम्म राज्य विस्तार गर्नुभएको थियो।
यति ठुलो भू-भागमा राज्य विस्तार गर्न उहाँलाई तीन वर्ष लागेको थियो। सोही विजय र तीन वर्षको निरन्तर प्रयास सफल भएको खुसीयालीमा राजा उवाहाङले आफ्ना भाइ-भारदार र रैतीलाई भेला गराई पहिलो पटक भोज खुवाउनुभएको थियो। त्यही ऐतिहासिक घटनाको स्मरणमा यो मेलालाई निरन्तरता दिइँदै आएको जानकारहरू बताउँछन्।
मेलामा पालाम, ख्याली, हाक्पारे, माङलाङ र केलाङ लगायतका लिम्बू संस्कृतिमा आधारित गीत तथा नृत्यहरूको विशेष रौनक रहने गर्दछ। साथै, नजिकै रहेका कुम्मायक र कुस्सायक मन्दिरमा विशेष पूजा-आराधना समेत गरिन्छ।
यो मेला भर्न पाँचथर, इलाम, झापा, तेह्रथुम, ताप्लेजुङका साथै छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट समेत हजारौँ मानिसहरू यहाँ आइपुग्ने गर्दछन्।
बुधबार गरिएको मेलाको उद्घाटन पूर्व विभिन्न सांस्कृतिक झाँकीहरूले बजार परिक्रमा गरेका थिए। बजार व्यवस्थापन र पूजा-आराधनालाई व्यवस्थित बनाउन गाउँपालिकाले सहजीकरण र सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिनुभयो।


