२५ बैशाख २०८३, शुक्रबार 1778265323
Banner

नियोगहरूमार्फत मुलुकको कूटनीति सफल बनाउन लागि परौँ : सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौँमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । सभामुख अर्यालले कूटनीतिक नियोगहरूको सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय सुरु गर्न आवश्यक रहेको पनि बताए ।

उनले नेपालको राष्ट्रिय महत्त्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि बताए । शिक्षाको माध्यमद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्त्व बुझाउन जरुरी रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने पनि बताए ।

उनले भने, ‘हामीले नयाँ पुस्तालाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत, सम्पदा र संस्कृतिप्रति जागरूक गरी शिक्षाको माध्यमद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्त्व बुझाउन जरुरी छ । जसले हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्नेछ । म यस अवसरमा यहाँ उपस्थित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

उनले थप भने, ‘तपाईँहरूको लगन, मेहनत र प्रतिवद्धताविना राष्ट्रिय नीतिका लक्ष्यहरू पूरा हुन सक्दैनन् । सबै मिलेर नेपालको कूटनीतिलाई विश्वव्यापी स्तरमा अझ प्रभावकारी रूपमा प्रवर्द्धन गरी राष्ट्रको गौरव र प्रतिष्ठालाई अझ वृद्धि गर्न कूटनीति नियोगहरूको सकारात्मक सहभागितामा सफलताको नयाँ अध्यायको सुरु गरौँ ।’ सभामुख अर्यालले नेपालले राष्ट्रिय नीतिका लक्ष्यहरू पूरा गर्नका लागि अझ धेरै मेहनत गर्नुपर्नेमा पनि जोड दिए ।