२७ बैशाख २०८३, आइतबार 1778437682
Banner

नेपालबाट कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने षडयन्त्र हुँदैछ: प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु ठूलो डिजाइन अन्तर्गत लागि परेको बताएका छन्। २६औँ निर्मल लामा स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताए। उनले नेपालका कम्युनिष्ट पार्टीहरूले आफैंभित्र पहिला समीक्षा गरेर सच्याउने र सिङ्गै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गरे।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाईन अन्तर्गत लागि परेका छन्। यो सत्यलाई स्वीकार गर्न हामीले आँट गरेनौँ भने जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति, उनीहरूको आकांक्षाप्रति घात गरेको नै ठहर्छ भन्ने मलाई लागेको छ। त्यसकारण अहिले समय र परिस्थितिको माग छ–हामीले पहिले आफैंलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो? त्यसको समीक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंङ्गै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि एकचोटी नयाँ ढंगले आन्दोलन अघि बढाउनु जरुरी छ।’

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियो दाहालले सरकारले गरिव नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाएका छन्। संयोजक दाहालले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए। उनले कम्युनिष्टहरूबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए।

दाहालले भने,‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिवहरुमाथि, निमुखाहरुमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ। सबभन्दा गरिब, जसको हामी वर्ग आधार भन्ने गर्दछौँ। त्यही वर्गमाथि प्रहार भएको छ। हामीले यो बीचमा वैचारिक ढंगले र आफनो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ। हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टहरूलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादीहरू लागेका छन्।’ अध्यक्ष दाहालले नेपाली जनताले नेपालमा कम्युनिष्ट पार्टीहरुमाथि नै भरोसा गरिरहेको जिकिर पनि गरे।