३० बैशाख २०८३, बुधबार 1778673447
समाचार

समाजवादी पार्टीका प्रमुख अखिलेश यादवका भाइ प्रतीकको ३८ वर्षको उमेरमा निधन

काठमाडौं । भारतको समाजवादी पार्टीका प्रमुख तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवका भाइ प्रतीक यादवको ३८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार स्वास्थ्यमा अचानक बिग्रिएका कारण प्रतीकलाई लखनऊको सिभिल अस्पताल लगिएको थियो । जाँचपछि डाक्टरले उनलाई मृत घोषित गरे । उनको मृत्युको कारण अझै खुलेको छैन ।

अस्पतालले हालसम्म आधिकारिक प्रेस नोट जारी गरेको छैन ।

समाजवादी पार्टीले आफ्नो ट्वीटर (एक्स)मा उनलाई श्रद्धाञ्जली अर्पण गर्दै लेखेको छ, ‘श्री प्रतीक यादवजीको निधन हृदयविदारक छ । भगवानले उहाँको आत्मालाई शान्ति प्रदान गरून् । विनम्र श्रद्धाञ्जली ।’

प्रतीक एक व्यापारी र फिटनेस फ्रिक थिए । उनी लखनऊमा फिटनेस प्लानेट जिमका मालिक थिए । उनी सधै राजनीतिबाट टाढा रहन्थे ।

प्रतीक भारतीय जनता पार्टीकी नेतृ अपर्णा यादवका पति थिए ।

अपर्णा भाजपा नेतृका साथै उत्तर प्रदेश राज्य महिला आयोगकी उपाध्यक्ष हुन् ।