१ जेष्ठ २०८३, शुक्रबार 1778860428
राजनीति

पूर्वगृहमन्त्री सुधनमाथि निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरूङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरूङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै उनले भने, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस्।’

पूर्वगृहमन्त्री गुरूङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए। सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनीमाथि राजनीतिक र नैतिक दबाब बढेको थियो। त्यसपछि गुरुङले गत ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

तर राजीनामा दिएको तीन साता बितिसक्दा पनि सरकारले छानबिन समिति गठन नगरेपछि विपक्षी नेता आङ्देम्बेले बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको आलोचना गरेका थिए।

यसबीच सरकारले गुरूङमाथि छानबिन गर्न समिति गठन गरिसकेको छ। सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गरेको छ।

समिति गठन भएपछि नेता आङ्देम्बेले त्यसलाई सकारात्मक कदम भने पनि समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने सचिवालयमार्फत् बताएका छन्। उनले समितिले राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्।