दाङ । दाङको घोराही उपमहानगरपालिका–२ निमुरियामा सञ्चालन भइरहेको कृषि फार्मले स्थानीयलाई गाउँमै रोजगारी दिएपछि धेरैको जीवनस्तर सुधारिन थालेको छ । स्थानीयवासी अहिले कृषि काममार्फत नियमित आम्दानी गर्न थालेपछि अन्यत्र रोजगारी खोज्न जानुपर्ने बाध्यता घटेको बताएका छन् ।

स्थानीय मुना चौधरी कृषि फार्ममा काम पाएपछि घरखर्च चलाउन सहज भएको बताउँछिन् । उनले फार्ममा काम गरेर मासिक १४ देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् । “पहिले काम नहुँदा घरमै बस्नुपर्थ्यो, अहिले गाउँमै रोजगारी पाएका छौँ,” उनले भनिन् । त्यस्तै अर्की स्थानीय देवा चौधरीले पनि कृषि फार्मकै आम्दानीले परिवार चलाउन सहज भएको बताइन् । श्रीमान् घर निर्माणको काममा रहे पनि आफूले कृषि फार्ममा काम गरेर घरखर्च धान्दै आएको उनले सुनाइन् ।
स्थानीयलाई रोजगारी दिने काम घोराही–२ का ३७ वर्षीय हरि जिसीले सञ्चालन गरेको सुवर्ण कृषि फार्ममार्फत भइरहेको हो । सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गरिएको तरकारीखेती अहिले १४ बिघासम्म विस्तार भएको छ । फार्ममा हाल ४० जना स्थानीयले नियमित काम पाउँदै आएका छन् ।
फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतका काम हुने गरेका छन् । विद्यार्थीहरूले समेत पढ्दै काम गर्ने अवसर पाएका छन् ।
जिसीले वार्षिक करिब दुई करोड रुपैयाँको कारोबार गर्दै आएका छन् । कामदारको ज्यालामा मात्रै वार्षिक झन्डै एक करोड रुपैयाँ खर्च हुने उनले बताए । फार्ममा सिजनअनुसार टमाटर, काँक्रा, बोडी, कोभीलगायतका तरकारी उत्पादन गरिन्छ । उत्पादित तरकारी बिक्रीका लागि घोराही बजारमा पसलसमेत सञ्चालन गरिएको छ । दाङसहित बुटवल, नेपालगन्ज, धनगढी, पोखरा र काठमाडौँसम्म तरकारी बिक्री हुने गरेको जिसीले जानकारी दिए । हाल फार्मबाट काँक्रा प्रतिकिलो १७ रुपैयाँ र टमाटर २८ रुपैयाँमा बिक्री भइरहेको छ ।


