५ जेष्ठ २०८३, मंगलबार 1779190994
Banner

संसदीय सुनुवाइमा हतारो रहस्यमय छ : अर्याल

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

मंगलबार (जेठ ५) बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफलबिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राखिन् ।

बैठकमा उपनेता अर्यालले कार्ययोजना र उजुरी भर्खरै प्राप्त भएको अवस्थामा अध्ययनका निम्ति समय नै नदिई आजै सबै विषय टुंग्याउन खोज्नु रहस्यमय भएको बताइन् ।

“…संवैधानिक परिषद्‌मा ६ जनाको नाम गएको चर्चा थियो । तीमध्ये कुन आधारमा तीनजना वा प्रस्तावित व्यक्तिको नाम छनोट भयो, त्यो जान्ने अधिकार समितिलाई छ,” उनले भनिन्, “प्रधानमन्त्रीले योग्यता र विज्ञताको कुरा गर्नुभएको छ, अन्य उमेदवार र प्रस्तावित व्यक्तिको कागजात तुलना गरेपछि मात्र हामी स्पष्ट हुनसक्छौँ ।”

उनले संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता र राष्ट्रियसभाका अध्यक्षले राखेको असहमति वा ‘नोट अफ डिसेन्ट’का विषयमा पनि समिति सुसूचित हुनुपर्ने बताइन् । समितिको निर्णय कार्यपालिकाको आदेश पालना गर्ने औपचारिक माध्यम मात्र बन्न नहुनेमा उनले जोड दिइन् ।

उपनेता अर्यालले प्रक्रियागत त्रुटि र हतार नगरी गम्भीरतापूर्वक अगाडि बढ्न सभापतिको ध्यानाकर्षण गराइन् ।