५ आश्विन २०८१, शनिबार 1726962358
Banner

जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गायर आफूलाई सुनाउने गरेको स्मरण गर्नुभयो । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीतको महत्त्वका बारेमा चर्चा गर्नुभएको हो ।

उहाँले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गर्नुभयो । 
‘तपाईंहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर, त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर, नर्स र काम गर्ने सबैलाई गीत गाउन लगाउँथे । किनकि बिरामीसँग झगडा गर्न हुँदैन । गाउनै पर्ने थियो,’ ओलीले भन्नुभयाे ।

काममा व्यस्त हुँदा पनि उपचारमा संलग्न चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताए । डाक्टर जाँच्न आउँदा पहिले एउटा गीत गाउने, नर्सले कुनै इन्जेक्सन लगाउँदा पहिले गीत गाउने गरेको उनी बताउँछन् ।

ओलीले ‘सालको पात टपरी हुने‘’ गीत डाक्टर र नर्सहरुले सुनाउने गरेको बताउनुभयो । बिरामी अवस्थामा पनि गीत सुन्दा आनन्द हुने गरेको बताउँदै ओलीले मानव जीवनमा संगितको ठूलो महत्त्व रहेको स्मरण गर्र्नुभयो  । उहाँले गीतरसंगितभन्दा टाढा कोही रहन नसक्ने बताउनुभयो ।