काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले युवा पलायन रोक्न रोजगारी सिर्जनामा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ‘जेनजी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘आज यस सदनमा उभिइरहँदा म बानेश्वरको सडकदेखि सामाजिक सञ्जालसम्म आफ्नो हक खोजिरहेका जेनजी युवाहरूको आशा र आक्रोश दुवैलाई गहिरोसँग महसुस गरिरहेकी छु ।’
उनले आफ्नो पुस्ताले वर्षौंदेखि राजनीतिक अस्थिरता र आश्वासन मात्रै सुन्दै आएको उल्लेख गर्दै अहिले पनि युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको बताइन् ।
उनले भनिन्, ‘मेरो पुस्ताले वर्षौंदेखि राजनीतिक अस्थिरता र आश्वासन मात्रै सुन्यो । इतिहासका पानाहरू बदलिए तर विडम्बना, मेरो पुस्ताको भाग्य बदलिएन । आज पनि हरेक घरको कथा एउटै छ, कोही छोरा परदेशमा पसिना बगाइरहेका छन् भने कोही छोरी विमानस्थलमा आँसु पुछ्दै बिदा हुँदैछन् । युवा पुस्ताले यो देश छोड्न चाहेका होइनन्, तर यहाँ रोजगारीको अभाव र विगतका सरकारहरूको लाचारीले युवा पुस्तालाई देश छोड्न बाध्य पारिएको हो ।’
उनले युवाहरूको विदेश पलायनले देशको सम्भावना र भविष्यसमेत कमजोर बनिरहेको बताउँदै बानेश्वरमा अधिकार मागिरहेका युवाहरूलाई अवसर सिर्जना गरेर मात्रै देश रित्तिनबाट जोगाउन सकिने उल्लेख गरिन् ।
‘हामीले युवा पुस्ता मात्रै गुमाइरहेका छैनौँ, हामीले यो देशको सम्भावना र भविष्यसमेत गुमाइरहेका छौँ । बानेश्वरमा अधिकार माग्ने जेनजी युवाहरूलाई रोजगारीको अवसर सिर्जना गरेर मात्रै यो देश रित्तो हुनबाट जोगाउन सकिन्छ,’ उनले भनिन् । उनले सरकारलाई युवा पलायन रोक्ने दिशामा ऐतिहासिक परिवर्तनको पहल गर्न आग्रह गरिन् ।
‘सरकारलाई अनुरोध गर्न चाहन्छु, हाम्रो यो कार्यकाल केवल सत्ता सञ्चालनमा मात्र सीमित नबनोस्, यो युवा पलायन रोक्ने एउटा परिवर्तनको ऐतिहासिक क्षण बनोस्,’ उनले भनिन् ।


