४ आश्विन २०८१, शुक्रबार 1726834597
समाचार

कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

काठमाडौँ । यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्त कुनामा हुने सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसिटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो । 

कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको व्यवस्था गरिएको जानकारी दिनुभयो । 

“यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो, अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ, यसले सेवा प्रवाहमा सहज भएको छ”, उहाँले भन्नुभयो ।

उक्त कार्यालयले अहिले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । सवारी अनुमति पत्रको दर्ता, नवीकरण र राजस्व सङ्कलन गर्दै आएको उक्त कार्यालयमा दैनिक भिडभाड हुँदै आएको छ । 

सवारी अनुमति पत्र वितरण गर्दा उक्त कार्यालयले नागरिकता, फोटो र प्रवेश पत्र भिडाएर दिने गरेको छ । सिसिटिभी जडान, नागरिकता, फोटो र प्रवेश पत्र भिडाएर सवारी अनुमति पत्र वितरण गरेसँगै रिजल्ट तोडमोड गर्ने परम्पराको अन्त्य भएको सो कार्यालयले जनाएको छ ।

यस्तै, सवारी साधन अनुमति पत्रको ट्रायल परीक्षा दिने बित्तिकै पास फेल भएको नतिजालाई कार्यालयले तुरुन्तै वेबसाइटमा राख्दै आएको छ । जसका कारण आफू पास वा फेल भएको तत्कालै थाहा पाउन सकिन्छ । कार्यालय प्रमुख रेग्मीले भिडभाड हुने यातायात कार्यालयमा सेवाग्राहीको अनुपातमा कर्मचारी दरबन्दी कम भएको बताउनुभयो । 

उक्त कार्यालयमा हाल स्थायी ३४ र करारमा ११ कर्मचारी कार्यरत छन् । यस्तै कार्यालय सहयोगी १८ रहेका छन् । स्थायीमध्ये पनि १० कर्मचारी कार्यालयमा नभएको कारण काममा समेत समस्या हुने गरेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । 

विगतमा बिग्रेका अभिलेखका कारण काममा समस्या भएको सो कार्यालयले जनाएको छ ।रासस