२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 6:36 pm
अर्थ

काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउदैं ग्लोबल आइएमई बैंक

सूचना प्रेस २०८३ कार्तिक २० शुक्रबार ००:००, १६:१८ बजे २ मिनेट पढाइ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन् ।

लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्न लागेको हो।

करिब ३ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष ढकालले वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको र अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको बताए । उनका अनुसार प्रस्तावित भवन करिब १ लाख ४५ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुनेछ। अध्यक्ष ढकालले बैंकिङ क्षेत्रको आवश्यकता, आधुनिक प्रविधि तथा सेवाग्राहीलाई उपलब्ध गराइने सुविधालाई ध्यानमा राखेर भवन निर्माण गर्न लागिएको जानकारी दिए । उनले नयाँ भवन बैंकको संस्थागत विकाससँगै नेपालको बैंकिङ पूर्वाधारलाई समेत थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले निर्माण हुने बताए ।

अध्यक्ष ढकालले भवन निर्माण सम्पन्न भएपछि यो बैंकको केन्द्रीय कार्यालयका रूपमा मात्रै सीमित नरही नेपालको बैंकिङ क्षेत्रकै एक विशिष्ट पहिचान र आइकनका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

नयाँ केन्द्रीय कार्यालय भवन निर्माणले बैंकको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।